ओ सम्झना मलाई माफ गर!

(कविता) सुरज उपाध्याय, पोखरा
गाइ मार्न हुँदैन
पाप लाग्छ
अस्ति पनि गाइ काटेको आरोपमा
हिरासतमा छन् सार्कीका छोराहरु
यहाँ दिनहुँ बलात्कारको सिकार बनेका छन्
सार्कीका छोरीहरु
सुरक्षाकर्मीकै आँखा अगाडि फरार बनेर
खुलेआम हिडेका छन् विष्टका छोराहरु
ओ सम्झना
मलाई माफ गर
यो लोकतन्त्रमा
यो गणतन्त्रमा
जाबो यौटा कविता लेखेर तिमीलाई न्याय दिलाउन सक्दिन
यहाँ त सडकमा भेटीएको बेबारिसे गाइको पुच्छरलाई
ढोग गर्दै
हजारौं शक्तिशाली कविता लेख्ने
सयौं कविहरुको भिडमा
जाबो मेरो कविता
यौटा नारा सिवाय केहि हुन सक्दैनन् ।
Facebook Comments